ऐतिहासिक महत्वको पर्सागढी स्थानीयको अतिक्रमणमा
पर्सा | पुस १४, २०८१
वीरगञ्ज: तत्कालीन ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक पर्सागढी अतिक्रमणमा परेको छ ।
पुरातात्विक सम्पदामा स्थानीय, प्रदेश र सङ्घीय तीनवटै सरकारको ध्यान नपुग्दा स्थानीयको अतिक्रमणमा परेको हो ।
पर्सागढी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वृजमोहन चौधरीले गोर्खाली सेनाले तत्कालीन ब्रिटिस सेनालाई हराएको ऐतिहासिक पर्सागढीको जङ्गल क्षेत्र स्थानीय जनताले कब्जा गरेर आफ्नो नाममा ल्याएको बताए ।
“ऐतिहासिक पर्सागढीको ५० बिघाभन्दा अधिक क्षेत्रफलमा वन फैलिएको थियो”, उनले भने , “स्थानीयको अतिक्रमणले हाल एक बिघा दुई कट्ठामा सीमित भएको छ ।” अध्यक्ष चौधरीले जग्गा फिर्ता ल्याउने कोसिस गरे पनि त्यसमा सफल नभएको बताए ।
उनले आफ्ना सातौँ पुस्ताका अग्रज रञ्जित चौधरीले गोर्खाली सेनासँग मिलेर ब्रिटिस फौजसँग युद्ध जितेको ऐतिहासिकस्थल भावी पुस्ताका निम्ति संरक्षण गर्नुपर्नेमा जोड दिए ।
पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले ऐतिहासिक युद्धस्थल पर्सागढीको अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याउने तयारीमा जुटेको जानकारी दिए ।
“ पर्सागढीको जग्गा फिर्ता ल्याउनका लागि आवश्यक पहलकदमी भइरहेको छ”, उनले भने, “आवश्यक कानुनी प्रक्रिया पूरा गरेर जग्गा फिर्ता लिनेछौँ”, पर्सागढीको बृहत्तर गुरुयोजना बनाएर व्यवस्थित गर्न जरुरी भएको उहाँले बताए ।
यस्तो छ इतिहास विसं १८७१ पुस १८ र १९ गते नेपाल र ब्रिटिस इष्ट इन्डिया कम्पनी फौज पर्सागढीमा युद्ध भएको थियो ।
अङ्ग्रेज फौजको नेतृत्व मेजर जनरल मार्लेअन्तर्गतका कप्तान सिब्लीले गरेका थिए भने, नेपाली फौजको नेतृत्व भने रञ्जित चौधरीले गरेको बताइन्छ ।
साविक गाउँ जिगना, पचरुखी, चैनपुर, वागीश्वरी, वागवान, हरपुर, बिरुवा, बकनेर्वाका स्थानीय बासिन्दाले ठूलो सङ्ख्यामा स्थानीय हातहतियारसहित भैँसी तथा राँगाको सिङमा मसाल बाँधी दुवै खोलाको मुहान र दोभान छाडी गोर्खाली फौजको ठूलो सङ्ख्या आएको भान पारी अङ्ग्रेजलाई त्यहाँबाट भगाएको कथन छ । के छ पर्सागढीमा ? पर्सागढीको युद्धमा सक्रिय भूमिका निर्वाह गरेका रञ्जित चौधरीका कूलदेवता वन्हरबाबाको मन्दिर निर्माण गरिएको छ । पर्सागढी मन्दिर परिसरमा धर्मशाला पनि सञ्चालनमा छ ।
समितिका अध्यक्ष चौधरीले पुराना हतियार पनि सङ्ग्रह गरिए पनि सङ्ग्रहालय निर्माण गर्न नसकिएको बताए ।
यसरी मनाइँदैछ २१० औँ विजय महोत्सव
ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक युद्धस्थलमा बर्सेनि विजय महोत्सव हुने गरेको छ ।
यस वर्ष पनि उक्त दिनको स्मरण गर्दै यही पुस १९ गते पर्सागढी २१० औँ विजय महोत्सव आयोजना हुँदैछ । पर्सागढी मन्दिर व्यवस्थापन समिति, नेपाली सेनाको श्रीजङ्ग गण, पर्सागढी नगरपालिकाको सहकार्यमा महोत्सव हुनेछ ।
पर्वत: पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले का...
गण्डकी: पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ । राजस्व सङ्कलन प्रणालीमा आएको समस्याका कारण सेवाग्राही मर्कामा...
पोखरा: आज माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व पोखरामा पनि मनाइएको छ । देशभर नै स्नान, जप, तप,ध्यान साधना, दान आदी गरी माघे सङ्क्रान्ति मनाइँदै छ । पोखराको विभिन्न स्थानमा रहेक...

